८ माघ,गण्डकी। सुन्दा अनौठो लाग्न सक्छ, दुुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ ।
विसं २०६० मा रु तीन/तीन हजारमा दुुईवटा मौरीका घारबाट सुरु गरेका उनीसँग अहिले भने तीन सय ५० मौरीका घार पुुगिसकेका छन् ।आफ्नो अनुहार भरी मौरीलाई राख्न सफल भई स्वदेश तथा विदेशमा चर्चा कमाएका लामिछानेसँग मौरीकै कारण नेदरल्याण्डसहित युरोपियन मुलुकमा भ्रमण गर्न पाएका मीठा अनुुभव छन् ।
आफ्नो व्यावसायिकतामा उत्साह थप्न सञ्चारमाध्यमले ठूलो भूमिका निर्वाह गरेको बताउँदै लामिछानेले मौरीपालनको इच्छा र लगाव हुनसकेमा सामान्य रोजगारीका लागि विदेशिनु नपर्ने बताए । बेगनास मौरीघार उद्योगमार्फत मौरीपालन व्यवसाय गरिरहेका लामिछानेले उद्योग स्थापनाको २० औँ वार्षिकोत्सव मह खाने प्रतियोगिताका साथ मनाएका छन् ।
प्रतियोगितामा १० जना सहभागी भएकोमा पोखरा महानगरपालिका–२३ का जीवनाथ लामिछाने प्रथम भएका छन् । त्यस्तै द्वितीय पोखरा–३० खुदीका वसन्त पौडेल र तृतीय पोखरा–२७ का विक्रम अधिकारी बने । पोखरा–३१ की सृजना लामिछाने महिला प्रतिस्पर्धीका रुपमा पुरस्कृत बनेकी थिइन् । कूल तीन सय ग्राम महका लागि तीन मिनेटको समय छुट्याइएकोमा प्रथम, द्वितीय र तृतीयले क्रमशः एक मिनेट ४८ सेकेन्ड, दुई मिनेट आठ सेकेन्ड र दुई मिनेट ११ सेकेन्डमा मह खाएर विजयी भएका थिए ।