समाचार

चित्रे–घोडेपानी सडक स्तरोन्नतिको काम अघि बढ्यो

६ माघ २०८०, शनिबार ०२:१७
चित्रे–घोडेपानी सडक स्तरोन्नतिको काम अघि बढ्यो

६ माघ,म्याग्दी।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको काम अघि बढेको छ ।

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्ने प्रक्रीया थालेको हो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले मन्त्रालयको निर्देशन अनुसार सडक स्तरोन्नति गर्न प्राविधिक टोलीले सर्वेक्षण गरेको जानकारी दिनुभयो । विसं २०७६ मा प्रदेश सरकारको लगानीमा मार्ग खुलेको करिब तीन किलोमिटर सडक हाल कच्चि अवस्थामा छ ।

सडक विस्तार, ग्रेड, घुम्ति तथा मोड सुधार गरेर बाह्रै महिना सहज रुपमा नियमित यातायातका साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारले प्राथमिकता र चासो देखाएको हो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु। तीस लाख बजेट बिनियोजन भएको यो सडक योजनाका लागि थप रु। तीस लाख बजेट थप गर्ने र त्यसलाई २० प्रतिशत मानेर रु तीन करोड बजेट बराबरको बहुबर्षीय ठेक्का लगाउन लागेको छ ।

मंसिर दोस्रो हप्ता घोडेपानीमा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रथम चौमासिक समिक्षा कार्यक्रममा सहभागि हुन आउनुभएका प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री जुग्जालीको प्रस्तावमा चित्रे घोडेपानी सडक स्तरोन्नति गर्न यसै वर्ष बहुबर्षिय ठेक्का प्रक्रीया शुरु गर्ने घोषणा गरेका थिए ।

घोडेपानी देखि कास्कीको उल्लेरीलाई सडक सञ्जालले जोड्न यस वर्ष रु तीस लाख बिनियोजन भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे जोड्ने १८ किलोमिटर सडक स्तरोन्नतिको क्रममा रहेको छ । कास्कीको नयाँपुुल, तिखेढुुंगा, उल्लेरी हुुदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने सम्भावना छ ।

सडक सहज भएपछि घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटक आगामन बढ्ने, स्थानीयबासीलाई आवत जावत गर्न सहज हुने अपेक्षा गरिएको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी पुनहिल दृष्य अवलोकनका लागि प्रसिद्ध छ । यहाँ वार्षिक ३० हजार जना भन्दा बढी विदेशी पर्यटक भ्रमणमा आउँछन् ।

प्रतिक्रिया दिनुहोस्