समाचार

प्रधानमन्त्री देउवा पुस अन्तिम साता भारत जाने

१३ पुष २०७८, मंगलवार ०२:०२
प्रधानमन्त्री देउवा पुस अन्तिम साता भारत जाने

१३ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुस २५ गतदेखि तीनदिने भारत भ्रमणमा जाने तयारी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा भाग पुस २५ गते भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । त्यही दिन देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची  छ।

एकदिन दिल्लीमा बसेर  प्रधानमन्त्री देउवा गुजरात ग्लोबल समिटमा भाग लिन भारतीय समकक्षी मोदीको गृह प्रदेश गुजरात पुग्नेछन्। गुजरात ग्लोबल समिट जनवरी १० अर्थात पुस २६ गतेबाट सुरु हुँदैछ।

भारत सरकारले पनि ओमिक्रोन भाइरसका कारण शीर्ष नेताहरूको भौतिक उपस्थिति हुन सक्ने–नसक्ने समीक्षा गरिरहेको छ । भारतीय कूटनीतिक स्रोतले भन्यो, ‘प्रधानमन्त्री देउवालाई निमन्त्रणा पठाइएको छ । नेपाल सरकारले उनको सहभागिताका विषयमा ठोस जवाफ पठाइसकेको छैन । हामी पनि कोरोना परिस्थितिको बारेमा विज्ञहरूमार्फत समीक्षा गरिरहेका छौँ ।

यो कार्यक्रम पहिलोपटक सन् २००३ मा मोदी गुजरातको मुख्यमन्त्री हुँदा आयोजना भएको थियो । यसपटक कार्यक्रमको मुख्य विषय ‘आत्मनिर्भर गुजरातदेखि आत्मनिर्भर भारत’ राखिएको छ । यो कार्यक्रमको दशौँ संस्करण भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्