समाचार

३४१ मेगावाटको बुढीगण्डकी बनाउँदै साहस

२ माघ २०८०, मंगलवार ०१:४८
३४१ मेगावाटको बुढीगण्डकी बनाउँदै साहस

२ माघ,काठमाडौंसाहस ऊर्जा लिमिटेडले टाइम्स इनर्जीसँग भएको तीन सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त (पिआरओआर) आयोजनाको लाइसेन्स खरिद गरेको छ ।

गत हप्ता मात्रै टाइम्स इनर्जीले विद्युत् विकास विभागबाट आयोजनाको निर्माण अनुमतिपत्र (लाइसेन्स) पाएको थियो । त्यसलगत्तै कम्पनीले झन्डै दुई अर्बमा आयोजनाको लाइसेन्स बिक्री गर्ने सम्बन्धमा आइतबार साहस ऊर्जासँग सम्झौता गरेको छ ।

चुमनुब्रीको सल्लेरी नजिकै बाँध र धार्चेमा विद्युत् गृह निर्माण गरिने साहसका अध्यक्ष हिमप्रसाद पाठकले जनाए । आयोजनाको टनेल करिब ६.८ किमि तथा हेडवर्क्स ३ सय ९८ मिटरको हुनेछ । आयोजनाको जलाधार क्षेत्र ३ सय ७५ किमि छ ।

आयोजना विद्युत् खरिद सम्झौता (पीपीए) को अन्तिम चरणमा पुगेको पाठकको भनाइ छ । एक वर्षभित्र विस्तृत परियोजना रिपोर्ट (डीपीआर) र फाइनान्सियल व्यवस्थापन पूरा गरेर निर्माणको चरणमा गइने उनले बताए । उक्त आयोजना साहसले हालै टाइम्स इनर्जीबाट किनेको हो ।

प्रतिक्रिया दिनुहोस्