पिपलाडी गाउँका बडघर रहेका गहनुले माघीका बेला देखाइने मघौटालगायत नृत्य टोलीको छनोट गरी जिम्मेवारी दिने कार्य गरिएको बताए । माघीमा थारु समुदायले मघौटासँगै छोक्रा नृत्य पनि देखाउने गरेका छन् । पुसको अन्तिम दिनका लागि सुँगुर मार्ने कार्य गरिन्छ ।
पिपलाडीका छ टोलमा मासुका लागि छ वटा सुँगुर मार्ने व्यवस्था मिलाइएको वडाध्यक्ष एवं पूर्व बडघर नरेन्द्रप्रसाद चौधरीले बताए । उनका अनुसार यसै अवसरमा गाउँका सबै जनाले गच्छेअनुसार सुँगुरको मासु खरिद गर्ने तथा नयाँ लुगा लगाउने चलन रहेको छ ।
“सुँगुर ढाल्ने दिनलाई ‘जिता मर्ना भन्ने गरिएको छ”, चौधरीले भने, “माघ महिना सुरु भएपछि कुनै पनि पशुपन्छीको बध गर्न नहुने चलन छ । त्यसैले एक दिनअगावै सुँगुर ढाल्ने, कुुखुरा, भेडा, बाख्राको मासुको व्यवस्था गरिन्छ ।”
जिता मर्ना गरिने दिनको रातभरि आगोका धुनी जगाई रातभर मादल, डम्फु बजाउँदै बुढापाका, युवालगायतले पुराना गीत गाउँदै महिलाले छोक्रा र मघौटा नृत्य नाच्ने गर्दछन् । रातकै बेला अन्ती चामलको पिठोबाट बनेका ढिक्री, तिलको लड्डु, खेरिया, तरुल, गैँजी, उसिनेको चामलको भात खाने गरिन्छ ।
रातभर जाग्राम रहेका थारु समुदायले बिहानै नुहाइधुवाइ गरी कुल देवताको पूजा गरेपश्चात् ढकियामा चामलसँगै राखिएको नुन, खुर्सानी, गच्छेअनुसारको दक्षिणा राखेर चेलिबेटी, दिदीबहिनीलाई निश्राउ दिने चलन छ ।