समाचार

प्रहरीको गाडीमा आगजनी, अवस्था तनावग्रस्त

१२ पुष २०७८, सोमबार १५:२९
प्रहरीको गाडीमा आगजनी, अवस्था तनावग्रस्त

१२ पुस, सर्लाही । सर्लाही ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले आज प्रहरीको जिपमा आगजनी गरेका छन् ।

आक्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखिएको बा १ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगो लगाएका हुन् ।

सर्लाहीको ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको टोली चढेको भ्यानको ठक्करबाट आइतबार राति ईश्वरपुर–५ का २५ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।

उक्त विषयलाई लिएर आज प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । बैलबास बजारमा व्यपार गर्दै आएका महतोको मृत्युपछि उद्योग वाणिज्य सङ्घ ईश्वरपुरले आज दिनभर बजार बन्द गराएको थियो । महतोले बैलबास बजारमा फैन्सी पसल सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्