समाचार

खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या, सासू र छिमेकी घाइते

२७ पुष २०८०, शुक्रबार ११:२७
खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या, सासू र छिमेकी घाइते

२७ पुस,पाँचथर। पाँचथरको मिक्लाजुङ गाउँपालिकामा श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गएको छ ।

तुम्वेवा-४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा गएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको मृत्यु भएको हो। बिहीबार बेलुका कुरुम्बाङले श्रीमतीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सुमित कुशवाहले बताए। खुकुरी प्रहार हुँदा छिमेकी महेन्द्र श्रेष्ठ र गोमाकी आमा कान्छीमाया फियाक घाइते भएका छन्।

खुकुरी प्रहारबाट गोमाको ज्यान गएको र आमा कान्छीमाया र छिमेकी महेन्द्र श्रेष्ठ घाइते हुनुभएको छ । घाइते उहाँहरुलाई उपचारका लागि दमक पठाइएको वडाध्यक्ष जीवनहाङ फियाकले बताए । माइतीघर बस्दै आएकी गोमासँगको विवाद मिलाउन ससुराली घर पुगेका कुरुम्वाङले छलफल चलिरहेका बेला खुकुरी हानेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको कुशवाहले बताए। त्यसपछि उनले सासुलाई खुकुरी प्रहार गरेका थिए। त्यसक्रममा झगडा छुट्याउन गएका बेला छिमेकी श्रेष्ठमाथि पनि उनले खुकुरी प्रहार गरेका थिए।

‘घरायसी विवाद के थियो भन्ने स्पष्ट खुलेको छैन, तर सासू र श्रीमतीसँग छलफल भइरहेका बेला कुरुम्बाङले एक्कासि खुकुरी प्रहार गरेको बुझिएको छ,’ कुशवाहले भने, ‘रोक्न जाँदा छिमेकीलाई पनि प्रहार गरेको बुझिन्छ।’

 कुरुम्बाङ घटनापछि फरार छन्। उनको खोजी भइरहेको कुशवाहले बताए। घाइते सासू कान्छीमाया र श्रेष्ठको झापा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते रहेकी कान्छीमायाको आइसियूमा राखेर उपचार भइरहेको कुशवाहले बताए।

प्रतिक्रिया दिनुहोस्