समाचार

कोसीको सभामुखमा राप्रपाका विष्ट निर्वाचित

२५ पुष २०८०, बुधबार ०४:५९
कोसीको सभामुखमा राप्रपाका विष्ट निर्वाचित

२५ पुस,विराटनगर । कोसी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्वाचित भएका छन् ।

कोसी प्रदेशसभाको आज बसेको बैठकले विष्टलाई सर्वसम्मत रूपमा सभामुख चयन गरेको हो । त्यस सम्बन्धमा सभाले आजै निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो ।

प्रदेशसभामा सर्वसम्मत भएका विष्टको सभामुखमा दिएको उम्मेदवारीलाई लिएर राप्रपाभित्र किचलो उत्पन्न भएको हाे। उनको उम्मेदवारी पार्टी निर्णय विपरित भएको भन्दै राप्रपाका कतिपय नेताहरुले असन्तुष्टि जनाइरहेका छन्।

यस अघि पटक-पटक कोशीमा सत्ता राजनीतिका अस्वभाविक क्रियाकलापमा सहभागी नहुने घोषणा गरेको राप्रपाले  सभामुखमा उम्मेदवारी दिएपछि केन्द्रका नेताहरुले असन्तुष्टि जनाएका थिए। मंगलबार सभामुखको निर्वाचनमा सत्तागठबन्धन र एमालेले उम्मेदवारी नदिएपछि राप्रपाका विष्ट निर्विरोध भएका हुन्।

विष्टलाई सभामुख बनाउन राप्रपा कोसी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावलाई राप्रपा सांसद प्रेमराज थाम्सुहाङले समर्थन गरेका थिए । उनको प्रस्ताव दलहरूले सर्वसम्मतिले पारित गरेको हो ।

सभाले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार सभामुखमा विष्टको मात्र मनोनयन परेको थियो ।

प्रतिक्रिया दिनुहोस्