समाचार

राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिन सकिने

२४ पुष २०८०, मंगलवार ०१:०२
राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिन सकिने

२४ पुस,काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । हिजो मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ ।

पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुने कार्यसूची छ ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् ।

कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ  आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्