माघमा नाचिने मघौटा नाचको तयारी पनि भइरहेको छ । बेलुकाको खानापछि गाउँका दिदीबहिनी मतवाको घरमा जम्मा भएर नाचको तयारी गर्ने गरेको उनले बताइन् । सखिए नाचको मादलले गाउँघर रमाइलो भएको छ । थारु संस्कृतविद् अशोक थारुले आधुनिकताका कारण थारु संस्कार, संस्कृति ओझेलमा पर्न थालेकाले यसलाई सबैले जगेर्ना गर्नुपर्ने बताए ।
थारु समुदायका व्यक्तिले माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै स्थानमा जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिएर घरमा आएपछि खिचडी दान गर्ने गरिन्छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ ।
उनले भने, “माघमा नाचगान, खानपिन र वार्षिक कार्ययोजनालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ, पुसको महिना तयारी गर्ने र माघमा गाउँघरमा मघौटा नाच हुने गर्दछ, त्यसको तयारी एक महिनाअघिदेखि गरिन्छ, माघीपर्वसँगै गाउँको मुख्य व्यक्तिका रुपमा रहने भलमन्सा (बडघर) लगायत छनोट हुने गर्छ ।”