समाचार

सभापतिमा देउवासँग दोस्रो भएका शेखरलाई पार्टीमा २० औँ वरियता

१२ पुष २०७८, सोमबार १४:२५
सभापतिमा देउवासँग दोस्रो भएका शेखरलाई पार्टीमा २० औँ वरियता

१२ पुस, कांग्रेस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अध्यक्ष पदमा पराजित शेखर कोइरालाको वरियता २० औं नम्बरमा तोकिएको छ ।

शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरीयतामा कोइरालालाई २० औं नम्बरमा राखिएको हो। सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई वर्तमान र पूर्वपदाधिकारीपछिको वरियतामा राखिएको छ ।

कोइरालाले १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशत मत पाएका थिए । कांग्रेसमा यसअघि सभापतिको निकटतम प्रतिद्वन्दीलाई सभापतिपछिको वरियता दिने गरिएको थियो । तर १० औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका देउवालाई तेस्रो वरियतामा राखिएको थियो ।

देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई महत्त्व दिएका छन्। वरीयतामा शेखर अब केन्द्रीय सदस्यको शीर्ष स्थानमा छन्। १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका शेखरको वरीयता ३५ औं नम्बरमा थियो।  शेखरलाई २० औं वरीयतामा राख्न पनि उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले निकै कसरत गर्नुपरेको बताइएको छ।

सभापति देउवाले नयाँ वरियताअनुसार आफूपछि पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरुलाई क्रमश राखेका छन् । त्यसपछि पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु अर्जनुनरसिंह केसी, रामशरण महत र सुनील थापालाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्