समाचार

सर्लाहीको बरहथवा नगरपालिकामा कर्फ्यू जारी

२२ पुष २०८०, आईतवार १३:२९
सर्लाहीको बरहथवा नगरपालिकामा कर्फ्यू जारी

२२ पुस,मलङ्गवा। जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि बिहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ ।

यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएको भन्दै कर्फ्यू जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

कार्यालयका अनुसार आज दिउँसो १२ः४५ देखि भोलि विहान ८ बजेसम्म पूर्वमा सितापुर जाने बाटोको ब्रम्हास्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुल सीमा निर्धारण गरी कर्फ्यू जारी गरिएको हो ।

उक्त क्षेत्रभित्र कुनै पनि किसिमको भेला हुन र बाहिर आवतजावत गर्न नपाइने कार्यालयले जनाएको छ । स्थानीयको प्रदर्शनमा गत शुक्रबार एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्