समाचार

निजी विद्यालयलाई शैक्षिक गुठीमा लगिए आन्दोलन गर्ने चेतावनी

२२ पुष २०८०, आईतवार १३:१६
निजी विद्यालयलाई शैक्षिक गुठीमा लगिए आन्दोलन गर्ने चेतावनी

२२ पुस,म्याग्दी। निजी विद्यालय सञ्चालकहरुले निजी विद्यालयहरुलाई शैक्षिक गुठीमा लैजान नसकिने बताएका छन् ।

आईतबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै निजी विद्यालय सञ्चालकहरुले विद्यालय शिक्षा विधेयकले परिकल्पना गरे बमोजिम निजी विद्यालयहरुलाई शैक्षिक गुठीमा रुपान्तरण गर्न नसकिने बताएका हुन् । उनीहरुले यसो गर्दा आफूहरुको लगानी डुब्ने र समस्या सिर्जना हुने भन्दै त्यसो गर्न नसकिने स्पष्ट पारेका हुन् ।

समितिमा छलफलका क्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का निवर्तमान अध्यक्ष टीका पुरीले भने, ‘निजी विद्यालयलाई गुठीमा लगे सडक आन्दोलनमा आउँछौँ । कतै हाम्रो पनि प्रेम आचार्यकै जस्तो आत्मदाह गर्ने स्थिति त आउँदैन ?’

पुरीले भने, ‘हामी गुठीमा जान सक्दैनौँ । बैंकमा लोन छ । व्यवस्थापन गर्न गार्‍हो हुन्छ  ।  गुठीमा गएपछि चाहिँ  नि:शुल्क हुन्छ त ? बरु राष्ट्रियकरण गर्दा राम्रो हुन्छ  । हाम्रो ॠण/धन सरकारले क्लियर गरिदिए हामी सरकारलाई विद्यालय हस्तान्तरण गर्न तयार छौँ ।’

‘सरकारी र निजी विद्यालयले वर्ग निर्धारण गरेको होइन, शिक्षामा अवसर र ठाउँ विशेषले गर्दा विद्यार्थीले पढ्न पाएका हुन्,’ उनले भने, ‘विद्यालयका कारण वर्ग जन्मिएको भन्ने साँचो होइन। त्रिवि शिक्षण अस्पताल र अन्य मेडिकल कलेजमा उस्तै पठनपाठन हुन्छ त?’

उनले निजी विद्यालयले समयमै राज्यलाई कर तिरेको र तीन लाख जनालाई रोजगारी दिएको उनको दाबी छ। ‘शिक्षामा लगानी गर्नेले दुई चार पैसा कमाए शिक्षामै लगानी गरेको छ,’ उनले भने।

निजी विद्यालय गुठीमा लैजाने हो भने त्यसअघि प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका सम्पत्ति पनि राज्यलाई बुझाउनुपर्ने उनले बताए। निजी विद्यालयको छाता संगठन प्याब्सनका अध्यक्ष डिके ढुंगानाले अहिले पनि निजी विद्यालय राज्यकै नीतिअनुसार कम्पनीमा दर्ता भई चलिआएको बताए।

त्यस्तै, बैठकमा बोल्दै निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)का अध्यक्ष डिके ढुंगानाले निजी विद्यालयहरुलाई स्वायत्तता दिनुपर्ने बताए । उनले पाठ्यक्रम, परीक्षा र अनुगमन बाहेकका विषयहरुमा निजी विद्यालयहरुलाई स्वायत्तता दिनुपर्ने भनाइ राखे । उनले निजी विद्यालयहरुले नाफा कमाउनु अपराध नभएको भन्दै नाफा कमाउनु अपराध जस्तो ठान्ने भाष्यलाई परिवर्तन गर्नुपर्ने बताए ।

बैठकमा बोल्दै राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एशोसिएशन नेपाल(एन प्याब्सन)का अध्यक्ष पाण्डव हमालले कक्षा १० मा परीक्षा जरुरी रहेको भनाइ राखे । उनले विद्यार्थीको स्तरीयता मापन गर्ने विधि, पद्धति हुनुपर्ने उल्लेख गर्दै यो परीक्षालाई हटाउनु नहुने बताए । निजी विद्यालयहरुलाई मुआब्जा दिएर मात्रै राष्ट्रियकरण गर्नु नहुने भन्दै लगानी र त्यो क्षेत्रमा लगाएको समयको समेत मूल्यांकन हुनुपर्ने उनको भनाइ छ ।

निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)का निःवर्तमान अध्यक्ष टिकाराम पुरीले निजी विद्यालयहरु गुठीमा जान नसक्ने बताए । उनले गुठिमा जाँदा आफूहरुको लगानीलाई व्यवस्थापन गर्न नसक्ने भनाइ राखे ।

उनले गुठीमै गएपनि सरकारले निःशुल्क शिक्षा दिन नसक्ने भन्दै गुठीको कुरा गरेर आफूहरुको लगानी डुबाउने कुरामात्रै भएको भनाइ राखे । उनले निजी विद्यालयहरुलाई गुठीमा लगेमा आफूहरु आन्दोलित हुने चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्