शिक्षा

त्रिविको उपकुलपतिका लागि जारी विज्ञापन रद्द, ‘फराकिलो मापदण्ड’ राखेर पुन: जारी हुने

२२ पुष २०८०, आईतवार ०१:५०
त्रिविको उपकुलपतिका लागि जारी विज्ञापन रद्द, ‘फराकिलो मापदण्ड’ राखेर पुन: जारी हुने

२२ पुस,काठमाडौं।त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि यसअघि जारी भएको विज्ञापन रद्द भएको छ।

प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनकाे प्रावधान सच्याउन निर्देशन दिएपछि समितिले अस्ति शुक्रवार सार्वजनिक गरेको विज्ञापन रद्द गरेको हो ।

उपकुलपतिमा दरखास्त पेस गर्न विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको भन्ने व्यवस्था गरिएपछि व्यापक विरोध भएको थियो।

उपकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्थासहित समितिले नयाँ विज्ञापन सार्वजनिक गर्ने तयारी गरेको छ । अस्ति प्रकाशित भएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको बेहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्ने उल्लेख थियो ।

यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीले विज्ञापनमा कसैलाई पनि बन्देज हुने गरी व्यवस्था नगर्न र देश तथा विदेशबाट समेत प्रतिस्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्