समाचार

राष्ट्रिय सभा निर्वाचन : १९ सिटमा भागबन्डा, एस असन्तुष्ट

२२ पुष २०८०, आईतवार ०१:३५
राष्ट्रिय सभा निर्वाचन : १९ सिटमा भागबन्डा, एस असन्तुष्ट

२२ पुस,काठमाडौं। सत्ता गठबन्धन चार दलबिच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मध्यराति १२ बजेसम्म बसेको गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच भएको छलफले सिट बाँफाँट करिब टुंगिएको कांग्रेस नेता रमेश लेखकले बताए । माघ ११ मा निर्वाचन हुने १९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिट लिने भएका हुन् ।

सहमतिअनुसार कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने भएका छन् । कोशीमा कांग्रेस र माओवादीले १/१, मधेशमा कांग्रेस र जसपाले १/१, सुदूरपश्चिममा कांग्रेस र माओवादीले १/१ र लुम्बिनीमा कांग्रेस र माओवादीले १/१ सिट पाउने अनौपचारिक सहमति भएको छ ।

वाग्मती, गण्डकी र कर्णालीमा कांग्रेस र एकीकृत समाजवादीबीच सिट बाँडफाँटमा सहमति हुन सकेको छैन । बाँकी सिटबारे आइतबार बिहान बसेर निष्कर्षमा पुगिने बैठकमा सहभागी माओवादी वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए । समाजवादीले ३ सिटको दाबी गर्दै आएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाएको स्रोतले बतायो ।

‘प्रमुख दलले बढी सिट दाबी गरेपछि बैठक निष्कर्षमा पुग्न सकेन,’ जनमत पार्टीका अध्यक्ष सिके राउतले भने, ‘कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाबीच मुख्यगरी कुरा मिलेन ।’ उनले जनमतले पनि एक सिट दाबी गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्