समाचार

नेपाल र भारतबीच भएको सम्झौता स्वागतयोग्य : विमलेन्द्र निधि

२१ पुष २०८०, शनिबार १२:३५
नेपाल र भारतबीच भएको सम्झौता स्वागतयोग्य : विमलेन्द्र निधि

२१ पुस,काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले बिहिबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भएका सम्झौता तथा सहमति स्वागतयोग्य रहेको बताएका छन्।

सहमतिले नेपाल र भारतबीच रहिआएको विशिष्ट सम्बन्धलाई थप बल पुर्‍याएको उनको भनाइ छ। ‘सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायता सम्बन्धी सहमतिअनुसार अब भारतले २० करोड रुपैयाँसम्मको अनुदान दिनसक्ने भएको छ।

जुन सकारात्मक कुरा हो। अनुदानमा आधारित यस्ता परियोजनाहरू धेरै पहिललेदेखि नै सञ्चालित छ,’ उनले भने, ‘२ करोड अनुदानबाट प्रारम्भ हुँदै ५ करोडसम्मको रकम दिँदै आइरहेको थियो। यस्तो परियोजना छनौट र स्वीकृतिका लागि सुरुदेखि नै नेपाल सरकारको सम्बन्धित निकाय, सरोकारवाला मन्त्रालय र अर्थमन्त्रालयको संलग्नता र सहमति अनिवार्य रहँदै आएको छ।’

भारत सरकारबाट प्राप्त हुने अनुदानबाट नेपालका कम्युनिस्ट पार्टीसहित सबै पार्टीका नेता र समाजका विभिन्न क्षेत्रका अगुवाले पनि आ-आफ्नो प्रभाव क्षेत्रमा विद्यालय, क्याम्पस भवन र पुल निर्माण गर्दै आएको निधिले स्मरण गराएका छन्। ‘उनीहरू आफू पनि सहभागी हुँदै आएका छन्। अहिले आएर त्यसको विरोध गर्नु द्वैध चरित्र प्रदर्शन गर्नु मात्र हो,’ निधिले भनेका छन्।

उनले दुई देशबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौताअनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न सकिने भएको बताए। यसबाट नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित हुनुका साथै नेपाललाई वार्षिक १० खर्ब हाराहारी आम्दानी हुने र भारतसँगको बढ्दो व्यापार घाटा कम गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्