शिक्षा

तीन वर्षे अनुभव हटाएर फेरि सूचना प्रकाशित गर्न त्रिविलाई प्रधानमन्त्रीको निर्देशन

२१ पुष २०८०, शनिबार ०३:१५
तीन वर्षे अनुभव हटाएर फेरि सूचना प्रकाशित गर्न त्रिविलाई प्रधानमन्त्रीको निर्देशन

२१ पुस,काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि उपकुलपतिको विज्ञापन सच्याएर पुनः प्रकाशित गर्न आदेश दिएका छन्।

शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई आफ्नै कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले उक्त विज्ञापन सच्चाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिएका हुन् ।

छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुपर्ने सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्रीले बताएका थिए। पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाएर फेरि सूचना प्रकाशित गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

माओवादीले आफू निकट पूर्वरजिष्ट्रार तथा राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष चन्द्रमणि पौडेललाई ल्याउन चाहेकाले उनैलाई लक्षित गरेर मापदण्ड बनाएको आरोप समेत लागेको छ ।

प्रतिक्रिया दिनुहोस्