मुख्य समाचार

जितगढी किल्ला इतिहासको निशानी हो : राष्ट्रपति पौडेल

२० पुष २०८०, शुक्रबार १०:५९
जितगढी किल्ला इतिहासको निशानी हो : राष्ट्रपति पौडेल

२० पुस,बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले जितगढी किल्ला ठूला साम्राज्यसँंग नेपाली सौर्य र कुटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको बताएका छन् ।

शुक्रबार ऐतिहासिक जितगढी  किल्ला नेपाली सेनाद्वारा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा शुक्रवार राष्ट्रपति पौडेलले जितगढीलाई मणि मुकुन्दसेनको दरबार, नुवाकोट गढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मी नगर र हिल पार्कसम्म जोड्न सके यसले देशको पर्यटनको विकासमा समेत योगदान दिने बताए ।

जीतगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा बिकास गर्न त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको उनले जनाए । ‘यसका लागि अब बुटवल उपमहानगरपालिकाको विशेष भूमिका रहनुपर्छ,’ उनले भने, ‘किल्लाको समयानुकुल प्रचार प्रसार र प्रवर्द्धन गर्दै पर्यटकीय स्थल बनाउन उपमहानगरपालिकाले योजनाबद्ध रुपमा काम अगाडि बढाएकोमा खुशी लागेको छ।’

उनले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल भएको उल्लेख गर्दै किल्लाको समयानुकुल प्रचार प्रसार र प्रवर्द्धन गर्दै पर्यटकीय स्थल बनाउन बुटवल उपमहानगरपालिकाले योजनाबद्ध रुपमा काम अगाडि बढाएकोमा आफूलाई खुशी लागेको पनि जनाए ।

उनले जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ कमाण्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने नेपाली सेना र बुटवल उपमहानगरपालिकाको सराहनीय काम भएको बताए ।

राष्ट्रपति पौडेलले भने–‘आगामी दिनमा यस किल्लालाई नेपाल अंग्रेज युद्धको अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गर्न बुटवल उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारलाई यस्ता ऐतिहासिक र सामरिक महत्वका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा थप चासो बढाउन आग्रह गर्दछु ।’

राष्ट्रपति पौडेलले तिनाउ नदीको तटमा अवस्थित चुरे पहाडको काखमा पहाड र तराईको सङ्गम स्थल तथा प्रसिद्ध व्यापारिक केन्द्रको रूपमा रहेको बुटवललाई आर्थिक केन्द्रका रूपमा विकसित गर्ने र बुटवलसहितका नगरहरूलाई जोडेर मेघा सिटी बनाउने यहाँका जनप्रतिनिधिहरूको चाहना पूरा होस् भन्ने शुभकामना व्यक्त गरे ।

किल्लाको पुननिर्माणपश्चात् नेपाली सेनाले हस्तान्तरण गरिसकेपछि अब यो किल्लाको थप संरक्षण र प्रवर्द्धनमा बुटवल उपमहानगरपालिकाले पर्याप्त चासो दिने छ भन्ने आफुले अपेक्षा राखेको राष्ट्रपति पौडेलको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्