समाचार

नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु : जयशंकर

१९ पुष २०८०, बिहीबार ०६:१०
नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु : जयशंकर

१९ पुस,काठमाडौं। भारतीय विदेश मन्त्री एस. जयशंकरले सन् २०२४ को पहिलो भ्रमण नेपालबाट गरेका छन्।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै विदेशमन्त्री जयशंकरले आफूले नयाँ वर्षको पहिलो भ्रमण नेपालमा गर्न पाउँदा हर्षित भएको बताएका हुन्।

दुईदिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार बिहान काठमाडौं आइपुगेलगत्तै उनले यस्तो बताएका हुन्। “सन् २०२४ को मेरो पहिलो भ्रमणको रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका निम्ति उत्साहित छु।”

नेपाल-भारतको संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी नेपाल आइ पुगेका हुन्। भारतीय वायुसेनाको विशेष आइएफसी ३१ विमान बाट बिहान ९ः३० मा नेपाल आइ पुगेका हुन्। उनलाई एयरपोर्टमा स्वागत गर्न परराष्ट्र मन्त्री एनपी साउद आफैं पुगेका थिए। उनको साथमा विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका कर्मचारी समावेश रहेका छन्।

त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग  होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्। पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ।

विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा काँग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन्। साँझ ६ः१५ बजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ। सो रात्रि भोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ।

प्रतिक्रिया दिनुहोस्