समाचार

ढकिया बुन्न सिक्दै थारु महिला

१९ पुष २०८०, बिहीबार ०१:४६
ढकिया बुन्न सिक्दै थारु महिला

१९ पुस,भरतपुर।पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ ।

तर कला–संस्कृतिको धनी थारु समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन् ।चितवनको रत्ननगर नगरपालिका–१० भानु चोककी जानकी चौधरी ढकियालगायत थारु समुदायले प्रयोग गर्ने परम्परागत सामग्री बनाउने तालिम लिन पाउँदा उत्साहित छिन्। उनले २२ दिनदेखि यस्ता सामग्री बनाउन सिकिरहेकी छिन् ।

उनीजस्तै ३० थारु महिला अहिले सौराहामा परम्परागत हस्तकला सीप सिक्न कस्सिएर लागेका छन् । थारु आयोगको आर्थिक सहयोगमा परिदृश्य नेपालको आयोजना र थारु कल्याणकारिणी सभा चितवनको समन्वयमा थारु महिलाका लागि तालिम दिइएको हो ।

जानकीले छोटो अवधिमा नै हस्तकला सीपमार्फत आकर्षक सामग्री बनाउन जानिसकेकी छिन् । उनले पूजा दानी, फ्रुट बास्केट, पेन होल्डर, किस्ती, गमला र ज्वेलरी बक्स बनाउन सिकिसकेकी छिन्। “पहिला केही पनि थाहा थिएन”, उनले भनिन्, “तालिमपछि थाहा भयो मैले पनि यति राम्रो सामग्री बनाउन सक्ने रहेछु ।” उनले परम्परागत सामग्रीको माग बढ्दै गएकाले आफूहरु तालिम लिन आएको बताइन् ।

उनले फुर्सदिलो समयको सदुपयोग र आयआर्जन पनि हुने भएका कारण निकै मेहनतका साथ तालिममा सामग्री बनाउन सिकेको बताइन् । “परम्परागत ढकियालाई समयको मागअनुसार परिवर्तन गरेर बनाउन सक्छौँ, उनले भनिन्, “हामीले बनाएको सामान बिक्रीका लागि बजारमा पनि लैजान थालिएको छ ।” उनले यस्ता सामग्री बनाउन मेहनत धेरै हुने भए पनि बजारमा माग राम्रो भएकाले बिक्रीको चिन्ता नरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्