सशस्त्र द्वन्द्वका समयमा २०५८ साल फागुन ४ गते दरबार ध्वस्त भएको थियो । ‘बोलपत्र’ आव्हान भई आर्थिक वर्ष २०६४÷६५ मा निर्माण व्यवसायी राजेन्द्र साउँद÷तुल्सी दुर्गा–कुँवर–बडिमालिका जेभी धनगढी कैलाली र तत्कालीन सहरी विकास तथा भवन निर्माण विकास डिभिजन कार्यालय डोटीसँग दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकामा हालसम्म पनि निर्माण सम्पन्न भएको छैन । दरबार नबन्दा यसअघि निर्माण भइसकेको कामसमेत भत्किने जोखिम छ ।
मङ्गलसैनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भएको उक्त दरबार उनका छोरा दलबहादुर शाहको पालामा विसं १९३५ मा निर्माण सकिएको इतिहास छ । सरकारले २०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजार रुपैयाँमा दरबार किनेको अछामी इतिहासका जानकारहरु बताउँछन् ।
योगेन्द्र बहादुरका भाइ तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको बताइन्छ । तीनतले दरबारमा ३० कोठा थिए ।