समाचार

लेखा शाखा जस्तै इन्जिनियरिङ युनिट राख्न पहल गर्छु : मन्त्री ज्वाला

१८ पुष २०८०, बुधबार १२:४७
लेखा शाखा जस्तै इन्जिनियरिङ युनिट राख्न पहल गर्छु : मन्त्री ज्वाला

१८ पुस,काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इन्जिनियरहरूले निजामती सेवामा सातौँ तहबाट सेवा प्रारम्भ गर्ने व्यवस्था गर्न आफूले प्रयास गर्ने बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित नेपाल इन्जिनियरिङ एशोसिएशनको १६ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री ज्वालाले प्राविधिक कार्यालयहरूको नेतृत्व प्राविधिकहरूले नै गर्न पाउने इन्जिनियरहरूको माग जायज रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गराउने काममा पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले धेरै महत्वपूर्ण निकायहरूमा छुट्टै इन्जिनियरिङ शाखाको स्थापना गर्न सकिने आश्वासन समेत दिए । मन्त्री ज्वालाले कार्यालयहरूमा प्राविधिकहरूको नेतृत्वदायी भुमिका नहुँदा कतिपय कामहरु अघि बढाउन असजिलो भईरहेको उल्लेख गर्दै त्यसमा सुधार ल्याउने काममा आफू लागिपर्ने बताए ।

उनले भने ‘अब छैटौँ तहबाट सेवा सुरु हुने कुरालाई पटकपटक भन्नुभएको छ । सातौँ तहबाट सेवा प्रारम्भ गर्ने व्यवस्थाको कुरा गर्नुभएको छ । त्यस्तै गरेर प्राविधिक कार्यालयहरूको प्रमुखहरू प्राविधिक नै हुनुपर्ने । प्राविधिक कार्यालय छ तर नेतृत्वको चाहिँ प्राविधिक छैन भने निश्चित रुपमा पनि असजिलो हुन्छ । अथवा कामको तालमेल हुँदैन ।

प्राविधिकहरूलाई उनीहरूको अध्ययन अनुसारको काम दिइयो भने काम गर्न पनि सहज होला । किनभने जुन विषयको जिम्मेवारी पाउँछ मान्छेले । त्यो विषयको विज्ञ भयो भने, त्यो विषयको जानकार भयो भने काम ठिक ढंगले अगाडि बढ्छ । समस्याहरू सुल्झाउन सहज हुन्छ । विषय नबुझदाखेरी अप्ठ्यारो हुन्छ ।

नियत खराब नहुँदा पनि विषय नबुझेको मान्छेले काम अगाडि बढाउन असजिलो हुन्छ । त्यसकारण यो प्राविधिक कार्यालयहरूको नेतृत्व उनीहरुले गर्ने कुरा वास्तवमा जायज छ । त्यस्तै गरेर धेरै महत्वपूर्ण निकायहरूमा इन्जिनियरिङ युनिट चाहिँ कमसेकम अलग्गै राख्ने कुरा । लेखा शाखा राखेजस्तै इन्जिनियरिङ युनिट राख्न सकिन्छ । त्यसका निम्ति पनि हाम्रो तहबाट प्रयास हुन्छ । म यो कुरा पनि यहाँहरूको बीचमा राख्न चाहन्छु ।’

मन्त्री ज्वालाले सरकारले इन्जिनियरहरू पलायन हुन नदिने गरी आवश्यक वातावरण बनाउने कामलाई प्राथमिकता दिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्