समाचार

प्रधानमन्त्रीको मन्त्री फेर्ने योजनामा देउवा बाधक

१८ पुष २०८०, बुधबार १२:३२
प्रधानमन्त्रीको मन्त्री फेर्ने योजनामा देउवा बाधक

१८ पुस,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वर्तमान मन्त्रीमण्डलमा मन्त्रीहरु फेरबदल गर्ने पक्षमा छन् । उनले सरकारको एक वर्ष पुगेका अवसरमा गत पुस १० गते गरेको सम्बोधनमा नै नयाँ कार्यशैली, नयाँ टिम भनेर घोषणा गरेका थिए ।

प्रधानमन्त्रीले फेर्न चाहेका मन्त्री देउवाले फेर्न नचाहेको र देउवाले फेर्न चाहेका मन्त्री फेर्न प्रधानमन्त्रीले नमानेपछि उनीहरुबीच कुरा नमिलेको बताइएको छ । नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्ड अर्थमन्त्री महतसहित केहि मन्त्री फेर्ने तयारुीमा देखिएका थिए । तर, देउवाले अर्थमन्त्री फेर्ने भए गृहमन्त्री पनि फेर्नुपर्छ भनेपछि प्रधानमन्त्री प्रचण्ड तत्काल मन्त्रिपरिषद फेरबदलबाट पछि हटेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार एक वर्ष पुगेको अवसरमा मन्त्रिपरिषद् हेरफेर गर्ने सोच बनाएका िथए । तर, गठबन्धनको प्रमुख दल कांग्रेसका कारण तत्कालका लागि उनले चाहेका मन्त्री फेर्न नसक्ने भएका छन् ।

प्रधानमन्त्री दाहालले भने हाल स्थगित भए पनि राष्ट्रिय सभाको माघ दोस्रो साता हुने निर्वाचनपछि मन्त्री फेर्ने मनस्थिति बनाएका छन् । ‘राष्ट्रिय सभाको निर्वाचनपछि मन्त्रिपरिषद् हेरफेर हुन्छ,’ दाहालनिकट एक नेताले भने, ‘देउवा आफ्ना मन्त्री फेर्नै नहुने अडानमा भने हुनुहुन्न ।’ ती नेताले देउवाले मन्त्री फेर्ने अधिकार प्रधानमन्त्रीको भएको भन्दै आलोचनाबाट जोगिन चाहेको तर्क गरे । उनका अनुसार अर्थमन्त्री प्रकाशशरण महतप्रति देउवाको मोह देखिन्छ । जबकि प्रधानमन्त्री अर्थमन्त्रीकै कार्यसम्पादनप्रति बढी असन्तुष्ट देखिएका छन् । कांग्रेस भने शरणार्थी प्रकरणमा बालकृष्ण खाणलाई पक्राउ गर्न आदेश दिएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति असन्तुष्ट छ ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार अर्थमन्त्री फेर्ने भए गृहमन्त्री पनि बदल्नुपर्ने धारणा देउवाले प्रधानमन्त्रीसमक्ष राखेका छन् । नक्कली शरणार्थी प्रकरण, ललिता निवास र सुन तस्करीमा गृहमन्त्री श्रेष्ठले चालेको कदमले सरकारको साख जोगाएको भन्दै प्रधानमन्त्री दाहाल तत्काल गृहमन्त्री फेर्ने/नफेर्नेबारेमा द्विविधामा छन् । माओवादी उपमहासचिव वर्षमान पुन प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा बताइसकेकाले अनुकूल समयमा मन्त्रिपरिषद् हेरफेर गर्ने ठान्छन् ।

प्रतिक्रिया दिनुहोस्