समाचार

माओवादी महाधिवेशनः नयाँ ‘ब्रान्ड’को खोजी

१२ पुष २०७८, सोमबार ०२:२१
माओवादी महाधिवेशनः नयाँ ‘ब्रान्ड’को खोजी

१२ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । माओवादीले महाधिवेशनमार्फत नयाँ ब्रान्डको खोजी गर्ने नीति लिएको हो । नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौँ महाविधेशन शुरु भएको छ ।

२०६४ सालमा देशकै ठूलो पार्टी बनेको माओवादी पटक–पटक विभाजित हुँदा कमजोर हुने अवस्थामा पुगेपछि पार्टीको नयाँ ब्रान्डको विषयमा बहस शुरु भएको छ । पार्टी कमजोर हुँदै गएको सन्दर्भमा माओवादीले पार्टीलाई नयाँ विचारको साथ पार्टी निर्माणमा लाग्ने उद्देश्यसहित महाधिवेशनमा सहभागी प्रतिनिधिले नयाँ शिराबाट पार्टीलाई पुनः उठाउन सक्नुपर्नेमा जोड दिएका छन् ।

संविधानसभाबाट संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको माओवादीको भूमिका कमजोर अनुभव भइरहेकाले पार्टीलाई चिनाउन पहिचानको खोजी भएको छ । उद्घाटन शत्रमा उपस्थित भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि उपेन्द्र यादवसम्मले माओवादीको बलमै संविधानसभाबाट संविधान जारी भएको भन्दै खुलेर प्रशंसा गरेका छन् ।

माओवादीले उठाएको एजेन्डा संविधानसभा हुँदै संविधानमा लिपिबद्ध भए पनि कार्यान्वयनको तहमा भने माओवादीले आफूले भने अनुसार नेतृत्व गर्न सकिरहेको छैन ।आइतबार राजधानीको प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको महाधिवेशन स्थल निकै साँघुरो हुँदा उद्घाटन सत्रमा देशभरबाट आएका प्रतिनिधि नै सहभागी हुन पाएनन् । साँघुरो ठाउँका कारण प्रतिनिधि नै उद्घाटन सत्रमा सहभागी हुनबाट वञ्चित थिए । प्रतिनिधिलाई सम्झाउन उद्घाटनस्थलमा खटिएका स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो ।

महाधिवेशनमा नियमित प्रक्रियाबाट छानिएका १ हजार ४ सय ८३ र मनोनीत १ सय ४८ गरी कुल १ हजार ६ सय ३१ को सहभागिता रहेको छ । माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १ सय ७९, सल्लाहकारबाट १ सय ४९, ज्येष्ठ कम्युनिस्ट मञ्चबाट १ सय २५, केन्द्रीय विभागबाट १ सय २, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८ सय ३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधिका रुपमा सहभागी रहेका छन् ।

त्यसै गरी प्रदेश १ बाट ९६, प्रदेश २ बाट १ सय ६, बागमतीबाट १ सय २८, गण्डकीबाट ७४, लुम्बिनीबाट १ सय ५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेषबाट ४२ र सम्पर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्