समाचार

वर्षा तथा हिमपातको सम्भावना, कहाँ कस्तो रहने छ मौसम?

१२ पुष २०७८, सोमबार ०२:१२
वर्षा तथा हिमपातको सम्भावना, कहाँ कस्तो रहने छ मौसम?

१२ पुस, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशभरको मौसम बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी मङ्गलबार र बुधबार देशभर फैलिएर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

आज आइतबारदेखि देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई यी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

बुलेटिनमा भनिएको छ, ‘सोमबार देशको पहाडी तथा हिमाली भू–भागहरूमा सामान्यदेखि पूर्णतया बदली र तराईका भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।’

बुलेटिनमा भनिएको छ, ‘मौसम पूर्वानुमान महाशाखाले माथि उल्लिखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकता अनुसार थप बुलेटिन जारी गर्नेछ। सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन समेत अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्