‘यो डाँडाको पौराणिक महत्त्व धेरै छ, समय अनुसार परिवर्तित संरचना तयार गरेर यो डाँडालाई नयाँ व्यवस्थापन गर्दैछौँ,’ उनले भने, ‘बीचमा मेला, पर्वमा झैझगडा हुन थालेपछि सुरक्षा खतराका कारण यहाँ हुने मेलाको परम्परा बन्द हुन पुगेको हो ।’
रिठेडाँडामा उद्यान, पदमार्ग निर्माण, चौतारी संरक्षणलगायतका काम भएको छ । पर्यटनको काम हुन थालेपछि त्यहाँ रहेको शङ्खेपहाराको चर्चा पनि बाहिरिएको छ । त्यहाँ रहेको चौतारीमा १२१ वर्ष पुरानो ढुङ्गाको शिलालेख पनि छ । पोखरीमा रहेको मौलो पनि उति नै पुरानो रहेको स्थानीय टंक केसीले बताए । हिउँदमा सो पोखरी सुक्ने गरेको छ । बाह्रैमास पानी जम्ने बनाउन पोखरी संरक्षणको योजना पनि ल्याइएको छ । भगवती मन्दिर जीर्ण बनेपछि नगरपालिका र स्थानीय दाताको सहयोगमा पुनःनिर्माण गरिएको छ ।
रिठेडाँडाको विकासमा वडा र नगरपालिकाको पनि साझेदारी छ । नगरका पर्यटकीय विकास योजनामा रिठेडाँडा सूचीकृत छ । यहाँ शौचालयको व्यवस्था, खानेपानीको व्यवस्था रहेको र दिनभर घाम लाग्ने भएकाले वनभोज खानेको रोजाइमा रिठेडाँडा परेको हो । एकैदिन चार पाँच समूह हुँदा बिनामारेकै भातखाने डाँडालाई विकल्पको रुपमा प्रयोग गर्ने गरिएको छ । भातखाने डाँडामा खानेपानी र शौचालयका पूर्वाधार बनाउन सके त्यहाँ पनि वनभोज स्थलको सम्भावना छ ।
तर भातखाने डाँडामा सबै जग्गा व्यक्तिका नाममा रहेकाले संरचना निर्माणमा कठिनाई रहेको क्षत्रीले बताए । कतै समथर त कतै भिरालो भू–बनोटमा रहेको रिठेडाँडाबाट मनोरम हिमशृङ्खला, पहाड र गाउँबस्तीको अवलोकन गर्न सकिन्छ । नेपाललाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर र अन्य सहायक सडक हुँदै रिठेडाँडा सजिलै पुग्न सकिन्छ । एक हजार तीन सय मिटरको उचाइमा अवस्थित रिठेडाँडा सदरमुकाम बागलुङ बजारदेखि २५ किमी दूरीमा पर्छ ।