समाचार

अर्थमन्त्री शर्माद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

२७ कार्तिक २०७८, शनिबार १५:५२
अर्थमन्त्री शर्माद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

२७ कार्तिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेको छन् ।

पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माण भइरहेको विमानस्थलको आज निरीक्षण गर्दै उनले हालसम्मको प्रगतिका बारेमा जानकारी लिए ।

विमानस्थल आयोजनाका उपप्रबन्धक कृष्णप्रसाद पौडेलले अर्थमन्त्री शर्मालाई हालसम्मको प्रगति, काममा देखिएका समस्या र सरकारका तर्फबाट गर्नुपर्ने कामका बारेमा जानकारी गराए ।

आयोजना उपप्रबन्धक पौडेलले हालसम्म विमानस्थलको ८७ प्रतिशत काम सम्पन्न भएको जानकारी गराए । विमानस्थलको दक्षिणतर्फ अवस्थित रिठेपानी डाँडा कटान, ल्याण्डफिल साइट स्थानान्तरण, पहिरो व्यवस्थापन र बर्खाको भल पानी नियन्त्रण आयोजनाका प्रमुख समस्या रहेको बताउँदै प्रबन्धक पौडेलले सरकारले समस्या समाधानमा सहयोग गरेको छन् ।

नहरका माध्यमबाट वर्खाको भल निकासका लागि रु ३८ करोड लागत अनुमान गरिएकामा बजेट अभावले काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ । सो अवसरमा अर्थमन्त्री शर्माले आयोजनाको बाँकी काम सम्पन्न गर्नका लागि बजेटको अभाव हुन नदिने र विमानस्थल सञ्चालनमा बाधा पर्न नदिने प्रतिबद्धता व्यक्त गरेको छन् ।

राष्ट्रिय गौरवका रुपमा रहेको आयोजनालाई छिटो सम्पन्न गर्नका लागि सरकारका तर्फबाट आवश्यक काम गरिने उनले उल्लेख गरेका छन् । बजेट अभावका कारण एयरपोर्ट सञ्चालनमा बाधा पुग्न दिइने छैन । अन्य मन्त्रालयसँग समन्वय गरेर समस्या समाधान गरिनेछ ।

पूर्ववत् सम्झौता अनुसार गत साउनमा सम्पन्न हुनुपर्ने विमानस्थलको काम कोरोना महामारीका कारण निर्धारित समयमा पूरा नभएपछि एक वर्ष म्याद थप गरिएको छ । विमानस्थलको दुई हजार ५०० मिटर लामो धावन मार्ग(रनवे) गत वर्ष नै सम्पन्न भएको थियो ।

टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गरलगायत १४ वटा भवन निर्माण कार्य सम्पन्न भएर साजसज्जा र विद्युत् तथा उपकरण जडान कार्य भइरहेको आयोजनाको आर्थिक प्रशासनका वरिष्ठ अधिकृत सविन फुयाँलले जानकारी दिए ।

उनका अनुसार विमानस्थलको ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माणलगायत काम सम्पन्न भएको छ । निर्माणाधीन विमानस्थल तीन हजार ८९९ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

रु २२ अर्बको लगानीमा चीनको सिएएमसी इञ्जिनीरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ । विमानस्थलका लागि २०३१ सालमा छिनेडाँडाको तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्