समाचार

लुम्बिनी प्रदेशसभा: विषयगत समितिकाे सभापति चयन गर्ने निर्वाचन अनिश्चितकालका लागि स्थगित

१५ पुष २०८०, आईतवार ०८:१२
लुम्बिनी प्रदेशसभा: विषयगत समितिकाे सभापति चयन गर्ने निर्वाचन अनिश्चितकालका लागि स्थगित

१५ पुस,काठमाडौं। लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आइतवार सूचना जारी गरी १७ पुसमा तोकिएको समितिका सभापतिको निर्वाचन स्थगित भएको जनाएको हो ।

आइतबार सूचना जारी गरी अर्काे सूचना नआउँदासम्मका लागि निर्वाचन स्थगित गरिएको सचिवालयले जनाएकाे छ। प्रदेशका ६ वटा विषयगत समितिले अझै पनि पूर्णता पाउन सकेका छैनन्।

लुम्बिनी प्रदेशसभाका सदस्यहरूले अघिल्लो वर्ष १७ पुसमा शपथ लिएपछि प्रदेशसभाको पहिलो अधिवेशन गत १८ पुसदेखि शुरू भएको थियो । माघ ३ मा सभामुख र उपसभामुख चयन भएका थिए । तर, सरकारको कामकाजको खबरदारी र कानून निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संसदीय समितिले अझैसम्म नेतृत्व पाउन सकेका छैनन् ।

सत्तारुढ गठबन्धनभित्र समितिको नेतृत्वको विषयमा भागबण्डा नमिल्दा नेतृत्वका लागि निर्वाचन हुन सकेको छैन । लुम्बिनीमा अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानून, सार्वजनिक लेखा, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र कृषि वन तथा वातावरण समिति छन् ।

६ समितिमा लेखासहित २ वटा समितिको सभापति एमालेलाई दिने र बाँकी सत्ता गठबन्धनले लिने तयारी छ । यद्यपि सत्तारुढ गठबन्धनभित्र कसले कुन समितिको नेतृत्व लिने भन्ने टुंगो भने लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्