मुख्य समाचार

जिल्ला अदालतको फैसलामा सन्दीपकाे असन्तुष्टि, उच्चमा पुनरावेदन गर्ने

१४ पुष २०८०, शनिबार १४:०५
जिल्ला अदालतको फैसलामा सन्दीपकाे असन्तुष्टि, उच्चमा पुनरावेदन गर्ने

१४ पुस,काठमाडौं। काठमाडौं जिल्ला अदालतको फैसलाविरूद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्।

फैसलाबाट सन्दीप स्तब्ध बनेको पारिवारिक स्रोतले बताएको छ । उच्च अदालतले फैसला सच्याउने उनले आशा राखेका छन् । पारिवारिक स्रोतले फैसला अप्रत्याशित र अस्वभाविक रहेको प्रतिक्रिया दियो । सन्दीपका कानून व्यवसायीले पनि फैसला त्रुटिपूर्ण रहेको बताएका छन् ।

शुक्रबार न्यायाधीश ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरुले बहस सकेपछि लामिछानेलाई दोषी ठहर गरिएको हो । उनको सजाय निर्धारण भने पुस २५ गते तोकिनेछ । सन्दीप दोषी ठहरपछि उनलाई कम्तीमा ७ देखि १० वर्षसम्मको जेल सजाय कानुनी व्यवस्था छ ।

तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका लामिछानेविरुद्ध गौशाला–२६ ले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी थिइन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटेलमा बलात्कार गरेको भन्दै पीडित किशोरीले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।

भदौ २३ मा काठमाडौ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएपछि विदेशमा रहेका लामिछाने करिब एक महिना उतै बसेर नेपाल फर्किने क्रममा असोज २० गते त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका थिए ।
कात्तिक १४ मा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि लामिछाने कारागार चलान भएका थिए । तर उच्च अदालत पाटनले उनलाई पुस २८ मा २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।

थुनामुक्त भएपछि उनले नेपाली टोलीको तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि खेले । उक्त मुद्दाको सुनुवाई पटक–पटक जिल्ला अदालतमा हेर्दा–हेर्दैको सूचीमा परेर लम्बिँदै आएको थियो । त्यसपछि शुक्रबार उक्त फैसला आएको हो ।

प्रतिक्रिया दिनुहोस्