समाचार

नाकको सहाराले लेखिएको कविता

७ पुष २०८०, शनिबार ०१:५८
नाकको सहाराले लेखिएको कविता

७ पुस, काठमाडौं।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज शर्माले अपाङ्गता भएका व्यक्तिमा रहेको प्रतिभा प्रस्फुटन हुने अवसरले समाजको हेर्ने दृष्टिकोण नै बदल्न सक्ने क्षमता राख्ने बताए।

कवि दर्शन केसी ‘साङ्कु’ को कवितासङ्ग्रह ‘दर्शन पोयम कलेक्सन’ लोकार्पण गर्दै उनले यस्तो बताए।  मन्त्री शर्माले ह्विल चेयर प्रयोग गर्नुहुने दर्शनले अङ्ग्रेजी भाषामा नाकको सहाराले  कवितासङ्ग्रहलाई गिनिज बुकमा रेकर्ड राख्ने वातावरण तयार गर्न पहल गर्ने बताए ।

उनले अपाङ्गताले व्यक्तिमा रहेको सिर्जनात्मक प्रतिभालाई छेक्न नसक्ने कुरा दर्शनको कवितासङ्ग्रहले साबित गरेको बताउँदै अपाङ्गता भएका व्यक्तिको प्रतिभालाई समाजसामु ल्याउने अवसर दिनुपर्नेमा जोड दिए।

प्राध्यापक प्रतिमा गुरुङले अपाङ्गता अवरोध होइन, अवसर हो भन्ने कुरा साबित गर्दै जाने प्रतिभामध्ये केसी पनि एक हुन् भन्दै सामान्य खालको अध्ययन गरेका व्यक्तिले कम्प्युटरको सहयोगबाट अङ्ग्रेजी भाषा सिकेर सो भाषामा सन्देशमूलक कवितासमेत पाठकमाझ ल्याउँदा गौरव लागेको बताए।

नायक राजेश हमालले व्यक्तिमा सिर्जना गर्न सक्ने क्षमता छ भने बोलीलगायत शरीरका कुनै अङ्गमा हुने कमीले छेक्न सक्दैन, यसको उदाहरण केसीले प्रविधि र नाककै उपयोग गरी कवितासङ्ग्रह प्रकाशित गरेर देखाउनुभएको भन्दै प्रशंसा गरेका छन्।

उनले कवितासङ्ग्रहमा समेटिएका कविता निकै ज्ञानवर्धक रहेका र यिनले पाठकलाई सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन्। कार्यक्रमका संयोजक कलाकार सनम कठायतले दर्शनको प्रतिभालाई पुस्तकका रूपमा प्रकाशन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै समाजमा लुकेका यस्ता सर्जकलाई अवसरको खाँचो रहेको बताए।

कवि दर्शन जन्मजात नै मस्तिष्क पक्षाघातबाट प्रभावित हुनुहुन्छ।  कक्षा ८ सम्म पढेका दर्शनले हाल सिर्जनशील पुनस्र्थापना विद्यालयमा अनौपचारिक कक्षा लिइरहनुभएको छ । ‘दर्शन पोयम कलेक्सन’ मा १८० वटा कविता सङ्गृहीत छन्।

प्रतिक्रिया दिनुहोस्