परराष्ट्र मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली नागरिक कुन्दनसिंह नागल (राहदानी नं. ०९४७३६३२) को मृत्यु भएको जनाएको हो।
मन्त्रालयले चार नेपाली नागरिक युक्रेनको कब्जामा रहेको जनाएको छ। मन्त्रालयका अनुसार बर्दियाको राजापुर– १ का विवेक खत्री, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर– ६ का सिद्धार्थ ढकाल, मोरङ लेटाङ– २ का विकास राई र रोल्पा रुन्टीगढी– ८ का प्रतीक पुनः युक्रेनमा बन्दी रहेका छन्।
बन्दी बनाइएका नेपालीहरूको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
साथै, उनीहरूको रिहाइ र नेपाल फिर्तीको लागि इन्टरनेसनल कमिटी अफ द रेडक्रस लगायत अन्य माध्यमहरुबाट पनि कूटनीतिक पहल भइरहेको मन्त्रालयको भनाई छ।
साथै, सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले दोहोर्याएको छ।