४ पुस, काठमाडौं।सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सम्बन्धी निर्णय आज आउने भएको छ । गएको मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो ।
मंसिर २९ देखि संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ थालेको थियो । सोमबार सुनुवाइ सकिएको थियो । उक्त सुनुवाई समितिबाट नाम अनुमोदन भएमा उनीहरू नियुक्तिका निम्ति योग्य हुनेछन् ।
संसदीय सुनुवाइ सकिएका प्रस्तावित ६ न्यायाधीशमा सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमान छन् । सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशको अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
उनीहरुमाथि गत शुक्रबारदेखि सुरु भएको सुनुवाइ गत सोमबार सकिएको थियो । सुनुवाइ सकिएकाले आज नाम अनुमोदनका लागि निर्णय हुन लागेको हो ।
निर्णयका लागि आज बिहान ११ बजे सुनुवाइ समितिको बैठक बस्दै छ । समितिले उनीहरूको नाम अनुमोदन गर्ने निर्णय गरेमा राष्ट्रपतिबाट शपथ ग्रहण गरी सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।