३ पुस, काठमाडौं ।निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको परिवारका सदस्यको नाम जोडिएर आएको भन्दै सांसदहरुले प्रश्न उठाएका छन्।
प्रधानमन्त्री दाहालले एनसेल खरिद-ब्रिक्रीमा प्रकरणमा छोरी गंगा दाहाललाई जोडेर भइरहेका नकारात्मक प्रचारको खण्डन गर्दै यो लोकतन्त्र र गणतन्त्रमाथिकै हमला भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मंगलबार सांसदहरूले परिवारका सदस्यहरूको संलग्नताबारे प्रश्न उठाएपछि प्रधानमन्त्री दाहालले जवाफ दिएका हुन् ।
छलफलका क्रममा सांसदहरुले एनसेलको शेयर खरिद गरेका गैरआवासीय नेपाली सतीशलाल आचार्यसँगको सम्बन्ध तथा प्रधानमन्त्री र उनकी छोरी गंगा दाहालको संलग्नता छ भनेर सांसद अमरेशकुमार सिंहले गरेको दाबीबारे समेत प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले सतीशलालको नाम लिएनन्, तर शेयर खरिद बिक्री गर्नेहरुलाई चिनेको बताए । आफूमात्र होइन कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली पनि सिंगापुर जाँदा उनीहरुकहाँ बस्ने गरेको प्रचण्डले बताए ।
बैठकमा कांग्रेस सांसद अजय चौरसियाले एनसेलको शेयर खरिदबिक्री प्रकरणमा प्रधानमन्त्री प्रचण्डको परिवारको नाम जोडिएको विषय उठाएका हुन् । उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीको परिवारको नाम जोडिएर आएको छ । यसमा गम्भी भएर लाग्नुभएको होला ।’
कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले एनसेल प्रकरणमा प्रधानमन्त्री प्रचण्डको परिवारको नाम जोडिएको विषय के हो भन्ने प्रश्न गरिन् । उनले एनसेल प्रकरणको वास्तविकता बाहिर ल्याउनुपर्ने बताइन् ।
‘प्रधानमन्त्री परिवारको नाम जोडिएको छ, के हो ? यो काण्डको वास्तविकता देख्न पाइयोस् । सरकारको जानकारीबिना खरिदबिक्री कसरी भयो,’ उनले भनिन्, ‘प्रधानमन्त्री नहुँदा कार्यवाहक प्रधानमन्त्री हुनुहुन्थ्यो । कानुन थियो । दुई दिनमा बिक्री भयो भन्ने विश्वास छैन ।’