समाचार

एससीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्छ- भीम रावल

१० पुष २०७८, शनिबार १५:२५
एससीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्छ- भीम रावल

१० पुस, काठमाडौं। नेकपा (एमाले) का नेता भीम रावलले एससीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने बताएका छन् ।

एमाले नेता रावलले एमसीसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको औंल्याउँदै त्यसलाई रोक्न सबैले आवाज उठाउनुपर्ने तर्क गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले एमसीसी संशोधन विना नै संसदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनीसमेत दिए।

नेता रावलले कुनै पनि देशभक्त नेपालीले त्यो सम्झौता मान्न नसक्ने अडान पनि उनले दोहोर्‍याएका छन् । उनले एमसीसी सम्झौता संशोधन गरेर भने अघि बढाउन आफू पनि सहमत रहेको बताए ।

नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौता नेपालका लागि स्वीकार्य हुनै नसक्ने बताए । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गर्ने काम गरियो भने मुलुक गम्भिर दुश्चक्रमा फस्ने चेतावनी दिए । उनले एमसीसी सम्झौताबारे नेपाल सरकारले अमेरिकी सरकारलाई पठाएको पत्राचार सार्वजनिक हुनुपर्ने माग समेत गरे ।

पूर्वराजदूत लीलामणि पौडेलले एमसीसी राष्ट्र हितमा नरहेकाले त्यसलाई अगाडि बढाउन नसकिने स्पष्ट पारे । नेपालको हित प्रतिकूल हुने खालका सम्झौताहरू हटाइए एमसीसी मानेर अघि बढ्न नेपाल तयार रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्