शिक्षा

त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज

२ पुष २०८०, सोमबार ०१:४२
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज

२ पुष,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि बिहान १० बजेदेखि नै प्रवेश खुला गरिने बताइएको छ। औपचारिक कार्यक्रम बिहान ११:३० बजेबाट सुरु हुनेछ।

त्रिभुवन विश्वविद्यालयका सूचना अधिकारी योगेन्द्र दाहालका अनुसार २०७९ को असारदेखि २०८० को असारसम्म पासआउट भएका विद्यार्थीमध्येबाट सोमबार दीक्षित हुन लागेका हुन्।

यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेको त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले बताए । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन् ।

अनलाइन मार्फत आवेदन दिएका विद्यार्थीहरू दीक्षित हुन लागेको उनको भनाइ छ । यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदै छ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने सूचना अधिकारी दाहालले बताए ।

दीक्षान्त समारोहमा सहभागी भएका विद्यार्थीलाई विभिन्न ५६ वटा स्टलबाट प्रमाणपत्र वितरण गरिने छ। पीएचडी र एमफील तथा पदक पाउने विद्यार्थीलाई भने राष्ट्रपतिबाट नै प्रमाणपत्र वितरण गरिनेछ।  दीक्षान्त समारोहमा  पदक पाउने विद्यार्थीहरू सबभन्दा अगाडिको लाइनमा आफ्नो नाम तोकिएको सिटमा बस्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्