विसं २००६ मङ्सिर ५ गते काठमाडौँ बत्तीसपुतलीमा जन्मिएका मिलनको विसं २०७७ कात्तिक १५ गते कोरोनाका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो । बाल कार्यक्रममार्फत ६ वर्षको उमेरमा रेडियो नेपालमा प्रवेश गरेका मिलन रेडियो नेपालमार्फत नै लामो समय राष्ट्रसेवामा समर्पित भए । उनका एक दर्जनभन्दा बढी गीत, कविता, गजल, नियात्रासम्बन्धी कृति प्रकाशित छन् ।
कार्यक्रममा मिलनको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन विषयका शोधार्थी सावित्रादेवी शर्मालाई सम्मान गरिएको थियो । सो अवसरमा पूर्वउपकुलपति काइँलाले साहित्य, सङ्गीत र गायन क्षेत्रमा मिलन नमूनाका रूपमा रहनुभएको स्मरण गरे ।
लगानशील र उत्साहित व्यक्तिका लागि उनी प्रेरणाका स्रोत रहेका उल्लेख गर्दै वरिष्ठ साहित्यकार काइँलाले हिम्मतिलो र आत्मविश्वासले मिलनलाई आफ्नो क्षेत्रमा शिखरमा पुर्याएको धारणा राखे ।
पूर्वसभामुख ढुङ्गानाले गीत–सङ्गीत क्षेत्रका ठूला साधक मिलनलाई अन्तर्यामी व्यक्तित्वका रूपमा जानेबुझेको बताए । उनले राष्ट्रिय प्रतिष्ठानको अभावमा विभिन्न श्रष्टाका परिवारले प्रतिष्ठान चलाउन बाध्य भएको अवस्थालाई विचार पुर्याउन सरकारलाई सुझाव दिए ।
समाजका संरक्षक निर्मला रेग्मी, अध्यक्ष प्राडा देवी नेपाल, कोषाध्यक्ष सिर्जना रेग्मी, वरिष्ठ समालोचक डा.गणेश भट्टराई, वरिष्ठ पत्रकार विजय चालिसे, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङलगायतले श्रष्टा मिलनको साहित्य र सङ्गीत साधनाको व्यक्तित्वबारे चर्चा गरे ।