खेलकुद

धनगढी एफसीको अपराजित यात्रा कायमै, एफसी चितवनलाई हराउँदै शीर्ष स्थानमा

२८ मंसिर २०८०, बिहीबार १४:४०
धनगढी एफसीको अपराजित यात्रा कायमै, एफसी चितवनलाई हराउँदै शीर्ष स्थानमा

२८ मंसिर, काठमाडौं। एफसी चितवनविरुद्ध आफिज ओलावालेको गोल निर्णायक बनेपछि १–० को जित निकाल्दै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

जारी सिजन लगातार ५ खेलमा अपराजित रहेको धनगढीले दशरथ रंगशालामा एफसी चितवनलाई १-० ले हरायो । खेलको दोस्रो मिनेटमै धनगढीका ओलावाले आफिजले गरेको गोल निर्णायक भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज लिगको पाँचौँ खेल खेलेको धनगढी एफसी यस जितसँगै ११ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो। आजको जितसँगै धनगढीले एनएसएलको दोस्रो संस्करणमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ।

खेलको सुरुवातदेखि नै आक्रामक बनेको धनगढीले दोस्रो मिनेटमै अग्रता बनाएको थियो। रोहन कार्कीको पासमा ओलावालेले बक्सको दायाँबाट क्रस गरेको बल चितवन गोलरक्षक विशाल श्रेष्ठलाई माथिबाट बिट गर्दै पोस्टभित्र प्रवेश गरेको थियो।

यस्तै खेलमा धनगढीले गोल थप्ने मौका पनि गुमायो । आशिष चौधरीले खाली पोष्टमा गोल हान्न सकेनन् । ओलावाले आफिजले चितवनका किपर विशाल श्रेष्ठलाई बिट गर्दै बायाँ भागबाट बक्समा क्रस दिएका थिए । तर मार्की आशिषले फ्रि चान्समा पनि गोल गर्न सकेनन् । उनको प्रहार पोष्ट भन्दा बाहिर गयो ।

यो जितपछि धनगढीको ५ खेलबाट ११ अंक छ । यो सहित ३ खेल जितेको धनगढी २ खेलमा बराबरीमा रोकिएको थियो । दोस्रो स्थानमा रहेको ललितपुर सिटीको ५ खेलबाटै ९ अंक छ । पराजित चितवन भने पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्