सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई अनुरोध गरिसकेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्य बताउँछन् । सरकारले रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल गरिरहेको छ ।
“नेपाली युवालाई प्रलोभनमा पारी रुस पुर्याउने गिरोहको खोजीमा सरकार लागेको छ, केही पक्राउ परेका छन्”, उनले भने, “सरकारले सार्वजनिक रुपमा नै युवालाई रुसी सेनामा भर्ना नहुन आग्रह गरिरहेको छ, सरकारी कामकाज, रुसको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएका बाहेक अन्यलाई रुस जान रोकिएको छ ।”
सरकारले कसैको प्रलोभनमा नपरी, युद्धरत मुलुकको सेनामा भर्ना नहुन सार्वजनिक रुपमा आह्वान गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहमा रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले प्रयास गरिरहेको बताएका थिए ।
“अहिले विभिन्न बाध्यताका कारण दुई सयभन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ”, उनले भनेका थिए, “सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ ।” प्रधानमन्त्री प्रचण्डले नेपालमै शिक्षा र रोजगारीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै युवालाई स्वदेशमा नै श्रम र पसिना बगाउन अपिल गरेका छन् ।
“नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन् । म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ”, प्रधानमन्त्री प्रचण्डले भनेका थिए ।
सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएका बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा कन्सुलर सेवा विभागबाट ‘नो अब्जेक्सन लेटर’ लिएर मात्रै यात्रा गर्न सरकारले सबैमा अपिलसमेत गरेको छ । हालसम्म रुसी सेनामा भर्ती भएका छ नेपालीको मृत्य भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, पोखराका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गङ्गाराज मोक्तानको मुत्यु भइसकेको छ । अझै केही नेपाली युवा रुसी सेनामा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सरकारी अधिकारीको भनाइ छ ।
सरकारले दुई मुलुकबीच सम्झौता भएर अध्ययनका लागि छात्रवृत्तिमा जानेबाहेकका सम्पूर्णलाई रुस जान रोक लगाएको छ । नेपालीहरु रोजगारी, अध्ययन, व्यवसाय तथा भ्रमणका लागि रुस जाँदै आएका छन् । नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभन देखाएर केही गिरोह अवैध रुपमा रुस लैजाने काममा सक्रिय रहेको प्रहरीले जनाएको छ ।