२८ मंसिर,काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेस पनि असन्तुष्ट रहेको दाबी गरेका छन् ।
पार्टीले आयोजना गरेको ‘मध्यपहाडी संकल्प यात्रा’ का क्रममा बिहीवार भोजपुरमा आयोजित सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् ।
अध्यक्ष ओलीले सरकारको कामबाट नेपाली कांग्रेसकै नेताहरुसमेत आजित भइसकेको दावी गरेका हुन् । ‘यो सरकारसँग नेपाली कांग्रेसकै नेताहरु पनि आजित भइसकेका छन् । राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर उनीहरु पनि असन्तुष्ट बनेका छन्, एमाले अध्यक्ष ओलीको भनाइ छ ।
देश दिनदिनै ओरालो लागेको भन्दै अध्यक्ष ओलीले यो अवस्थाबाट सबै क्षेत्र चिन्तित भएको बताए । देशलाई समृद्धितिर लैजान एमालेको सरकार आवश्यक भएको भन्दै गठबन्धनबाट मुलुकको विकास नहुने टिप्पणी उनले गरे ।
सुशासन र विकासका लागि कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने भन्दै ओलीले भने, ‘एउटा राष्ट्रिय शक्ति मजबुत भएन भने, सुशासन र विकासको पक्षमा जनशक्ति भएन भने देश बर्बाद हुन्छ ।’
अध्यक्ष ओलीले कांग्रेसका नेताहरु अहिले नै वि.सं. २०८४ मा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको उल्लेख गरे। उनले मिसन ८४ जनताको र हरेक नेपालीको मिसन भएको बताए। उनले देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने बताए।
उनले भने, ‘नेपाली कांग्रेसकै नेताहरु पनि भन्न थाल्नुभएको छ, मिसन ०८४ पर्खिन सकिँदैन भनेर। किनभने नेपाली कांग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन्। राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर। सबैमा चिन्ता छाएको छ। तसर्थ हामीले अब समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि अन्ततो गत्वा पनि मिसन ०८४ लाई सफल पार्नैपर्छ।’
अध्यक्ष ओलीले दिनदिनै देश ओरालो लागिरहेको जिकिर गरे। उनले देशमा एउटा राष्ट्रिय शक्ति मजबुत नभए, सुशासन र विकासको पक्षमा जनशक्ति नभए, शान्ति सुव्यवस्थासम्बन्धी कायम गर्न र एकतावद्ध भएर राष्ट्रनिर्माणको कामलाई एकतावद्ध बनाउन नसके देश बर्बाद हुने बताए।