२८ मंसिर,काठमाडौँ। काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ।
काठमाडौं महानगरले बुधबार पत्रकार सम्मेललन गरी गरी सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउन नगर प्रहरी परिचालन गर्ने निर्णय भएको जनाएको हो। काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रणको काम सुरु गरिएको दाबी महानगरको छ।
यसका लागि महानगरले ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ। काठमाडौं महानगरपालिका, जनस्वास्थ्य ऐन र सुर्तीजन्य पदार्थ निरूपण र नियमन ऐनअनुसार सुर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा नियमन र नियन्त्रण गर्न लागिएको महानगरको दाबी छ।
प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिंडी, तमाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मंसीर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो।
कसैले बिक्रीवितरण गरेको पाइए नगर प्रहरी मार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने सूचनामा उल्लेख छ। सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको स्वास्थ्य विभागका प्रमुख पौडेलले बताए।
महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट र सुर्ती खान रोक लगाएको थियो। महानगरले सार्वजनिक ठाउँ, विमानस्थल, सार्वजनिक शौचालय, मठमन्दिर, पाटीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्धाश्रम, पसल, पार्क लगायत क्षेत्रमा चुरोट नखान पनि आग्रह गरेको छ।
ऐनको अनुच्छेद–५ को उपदफा–१७ मा सजायसम्बन्धी व्यवस्थाअनुसार सो क्षेत्रमा धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन गरे तुरुन्त रोक लगाउन सक्ने, पटकपटक सेवन गरेमा बाहिर निकाल्न सक्ने र अटेर गरेमा उक्त रकम जरिवाना गराउने व्यवस्था छ।
ऐनको दफा–५ अन्तर्गत विभिन्न कसुरमा ५ हजारदेखि १ लाख रुपियाँ जरिवाना गर्नेसम्मको व्यवस्था छ। यसअघि सरकारले ऐन जारी गरेलगत्तै सरकारले प्रहरी परिचालन गरी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्नेमाथि तत्काल पक्राउ गरी सय रुपियाँ जरिवाना गर्ने गरेको थियो।
महानगरलले पान पसल र खुला रूपमा बिक्री गर्ने खुद्रा पसललगायतलाई निसाना बनाएका छ। कामपा जनस्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलका अनुसार कामपा ती क्षेत्रमा व्यापक अनुगमन गरी कारबाही गर्ने तयारीमा लागेको छ।