समाचार

खाणको मुद्दाउपर आज सुनुवाइ

२८ मंसिर २०८०, बिहीबार ०५:१९
खाणको मुद्दाउपर आज सुनुवाइ

२८ मंसिर,काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको विषयमा आज सुनुवाइ हुने भएको छ ।

खाणलाई थुनामा राख्ने कि छाड्ने भन्ने विषयमा सुनुवाइ हुन लागेको हो । यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो। पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए।

दुई न्यायाधीशको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार आज एकल इजलासमा सुनुवाइ गर्ने तय भएको हो। आज गोलाप्रथाबाट छानिएका न्यायाधीशको इजालासले खाण थुनामै रहने कि धरौटी वा साधारण तारेखमा रिहा हुने भन्ने विषयमा आदेश दिनेछ।

कुन न्यायाधीशको इजलासमा सुनुवाइ हुन्छ भन्ने कुरा अहिले नै टुंगो लागिसकेको छैन । आज कार्यालय समय सुरु भएपछि गोला प्रक्रियाबाट मात्रै इजलास टुंगो लगाइने छ । आज सुनुवाइ गर्नेले यसअघिका दुई मध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुन्छ ।

तर यी न्यायाधीशले अघिका दुई बाहेक तेस्रो राय दिएमा निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ । १५ मंसिरमा उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्