ऋग्वेदको मूल ध्येय प्राकृतिक शक्तिको उपासना र मानवताको रक्षा हो भनी विज्ञहरुले आफ्नो कार्यपत्रको सारमा औँल्याएको अध्यक्ष त्रिपाठीले बताए । हिमालय क्षेत्रमा लेखिएको ऋग्वेद वैदिक सनातन धर्मग्रन्थ मात्र नभएर आधुनिक समाज विज्ञानका लागिसमेत महत्त्वपूर्ण ज्ञानको भण्डार रहेकामा सम्मेलनमा एकमत देखिएको उनले उल्लेख गरे ।
वर्तमान विश्वमा बढिरहेको प्राकृतिक विनाश र मानव जातिबीचको द्वन्द्वलाई ऋग्वैदिक मान्यताको जगमा समाधान गर्न सकिनेमा विज्ञहरुबीच बहस भएको अध्यक्ष त्रिपाठीले बताउनुभयो । नेपालका विश्वविद्यालय र अनुसन्धान केन्द्रमा ऋग्वेदको अध्ययन, अध्यापन र अनुसन्धानमासमेत आवश्यक सहकार्य र समन्वय गर्न सम्मेलनबाट टेवा पुगेको उनको भनाइ छ ।
सम्मेलनमा प्रस्तुत कार्यपत्रलाई सार्वजनिक रुपमा प्रकाशन गरिने र त्यसमाथि थप विवेचना हुँदै जाने फाउण्डेशनले जनाएको छ । वेद र शास्त्रहरुमाथि पनि बौद्धिक बहस र छलफल हुन आवश्यक रहेको भन्दै ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन सोही अवधारणामा टेकेर आयोजना गरिएको अध्यक्ष त्रिपाठीले बताए ।
सम्मेलनमा नेपालको हिमाली सभ्यता, पर्यावरण र संस्कृतिबीचको अन्तर सम्बन्ध तथा यिनमा आधारित वैदिक ज्ञानमाथि मन्थन गरिएको उनको भनाइ छ । फाउण्डेशनले गण्डकी विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभाग, त्रि–चन्द्र क्याम्पस, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठानलगायतका सङ्घसंस्थासँगको समन्वयमा सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा देशविदेशका विभिन्न विश्वविद्यालय प्राध्यापक तथा विद्यार्थी, सांस्कृतिक, शैक्षिक तथा पर्यटकीय संस्थामा आबद्ध झण्डै दुई सय व्यक्तिहरुको सहभागिता रहेको थियो । सो अवसरमा पञ्चासे क्षेत्रमा बस्दै आउनुभएका वैदिक साधक क्यानेडेली नागरिक ग्यारी मिलर, सङ्घर्षशील महिला गोमा पराजुली, सफल युवा व्यवसायी देवेन्द्र केसीलाई सम्मान गरिएको थियो ।