समाचार

चिरान काठसहित दुई जना पक्राउ, प्रहरीलाई घुस दिने प्रयास

२३ मंसिर २०८०, शनिबार ०४:५१
चिरान काठसहित दुई जना पक्राउ, प्रहरीलाई घुस दिने प्रयास

२३ मंसिर,झापा। ट्रयाक्टरमा माटोले छोपेर चिरान काठ चोरी तस्करी गर्न खोज्ने दुई जना झापाको अर्जुनधाराबाट पक्राउ परेका छन्।

प्रहरी चौकी शनिश्चरेका प्रहरी नायव निरीक्षक कुमार खड्काको नेतृत्वमा खटिएका टोली शनिबार बिहान साढे ५ बजेको समयमा अर्जुनधारा नगरपालिका-५ बाँसबारीस्थित भित्री सडक खण्डबाट काठसहित ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

शनिबार बिहान करिब ६ बजेको समयमा अर्जुनधारा ५ बाँसबारीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ त ८०५ नम्बरको ट्रयाक्टरलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी, शनिश्चरेबाट खटिएको टोलीले रोकी चेकजाँच गर्दा माटोले छोपेर ल्याउँदै गरेको ५ फिटको २ थान, ६ फिटको ११ थान, ७ फिटको १९ थान, ८ फिटको २० थान गरी जम्मा ५२ थान अन्दाजी ५४.५ क्युबिकफिट सखुवा जातको चिरान काठ फेला परेको थियो।

काठ ल्याउने श्रेष्ठ र घतानीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई उनीहरूले ९५ हजार रुपैयाँ घुस दिन खोजेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

घुस दिन खोजेको नगद २ लाख ७० हजार मूल्य बराबरको काठ र ट्रयाक्टरसहित दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ त ८०५ नम्बरको ट्याक्टरलाई गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा माटोले छोपेर काठ ल्याएको फेला पारेको थियो। प्रहरीले चिरान गरेको ५ फिटको २ थान, ६ फिटको ११ थान, ७ फिटको १९ थान, ८ फिटको २० थान गरी जम्मा ५२ थान अन्दाजी ५४.५ क्युफिट सखुवा जातको काठ फेला परेको थियो।

काठ, ट्रयाक्टर र दुवैलाई डिभिजन वन कार्यालय, झापामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्