२२ मंसिर,काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसले कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्नु नहुने बताए ।
शुक्रवार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरुसँगै गठबन्धन गर्नुपर्ने बताए।
‘हामी सबैको उद्देश्य देशको विकास गर्ने भन्ने छ । तर देशमा परिवर्तन गर्नको लागि त्योभन्दा पहिले नेपाली कांग्रेसमा परिवर्तन हुनु आवश्यक छ,’ उनले भने, ‘कांग्रेसमा परिवर्तन नभएसम्म देशमा पनि परिवर्तन सम्भव छैन । परिवर्तित र बलियो कांग्रेसले मात्रै देशको परिवर्तनको नेतृत्व गर्न सक्छ ।’
नेता कोइरालाले वर्तमान निर्वाचन प्रणाली रहेसम्म सरकार गठनकैलागि पनि गठबन्धन गर्नैपर्ने स्थिति रहेको बताए । ‘यही निर्वाचन प्रणाली रहेसम्म गठबन्धन गर्नैपर्छ । तर गठबन्धन प्रि–इलेक्सन गठबन्धन कि पोस्ट इलेक्सन गठबन्धन गर्ने ? त्यसमा ध्यान दिनुपर्छ । हामी त डेमोक्रेटिक पार्टी हामी कस्तो पार्टीसँग गठबन्धन गर्दैछौँ ? अलिकति पनि डेमोक्रेटिक भएको पार्टी छ की छैन ? त्यस्तो पार्टीहरुसँग गठबन्धन गर्दा हामी कहाँ पुग्ने हो ?,’ नेता कोइरालाले अघि भने, ‘हामी यी विषयहरूमा प्रस्ट भएर मात्रै अघि बढ्न आवश्यक छ । यदि कम्युनिष्ट पार्टीहरूसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व नै समाप्त हुन्छ ।’
नेता कोइरालाले अहिले मानिसहरु लोकरिझाईंमा बढी केन्द्रित हुने थालेको बताए।