“बुबा भारतमै हुनुहुन्थ्यो, एसएलसी पासपछि भारत गए, उतै बजारीकरण विषयमा डिग्री हासिल गरे, उतैबाट मलेसिया पुगे”, वनले भने, “मासिक रु तीन लाख आम्दानी हुने जागिर मलेसियामा तीन वर्ष गरे, केही रकम जम्मा गरेर गाउँ फर्कने निधो गरे, सात वर्षअघि पुर्खाले परम्परागतरुपमा गर्दै आएको बाख्रापालन र मौरीपालनलाई व्यवसायीकरण गर्न थाले, अहिले वार्षिक रु १५ लाखसम्मको बाख्रा र मौरीबाट कारोबार गर्दछु ।”
उनले मौरीपालन र बाख्रा फार्म दर्ता गरेर दुई फार्मको मालिक बन्न सफल भएको जनाउँदै वार्षिक रु छदेखि आठ लाखसम्म बचत गर्न सफल भएको बताए । पढेलेखेकाभन्दा नपढेकाले मात्रै गर्ने कृषि पेसालाई विस्तारै पढेलेखेकाले अगाल्दा बढी सफल हुने उनको भनाइ छ ।
उनले पढेलेखेकाले खाने सरकारी जागिरभन्दा मौरीपालन र बाख्रापालनबाट बढी रकम कमाउन थालेको र अन्य युवाले समेत उद्यममा लगानी गर्न आवश्यक रहेको बताए ।
“भारतमै ठूलो कम्पनीको मार्केटिङ जनरल म्यानेजेर थिए, मलेसिया पुगेर त मासिक रु तीन लाख कमाइ हुने जागिर खाए, सात वर्षअघि तर नेपालमा नै केही गर्न पर्दछ भनेर लागी परे”, उनले भने, “बाख्रापालन व्यवसायभन्दा मौरीपालनबाट धेरै आम्दानी गर्न सकिने अनुभव सँगालेको छु, अहिले बाख्राबाट आफ्नो मेहनतसहित २० देखि ३० प्रतिशत र मौरीपालनबाट ६० प्रतिशत खुद नाफा गर्न सकिने रहेछ ।”
हाल पूर्वाधार, खोर, मौरीका घार र बाख्रासहित झण्डै रु ६० लाखको पुँजी जम्मा भएको उनको भनाइ छ । कमाइ भएको केही प्रतिशत पुँजी वृद्धिमा हाल्दै आएको र अन्य रकम बचत गर्ने गरेको वनले बताए । राज्यले अनुदान दिने नीति सुधार्न आवश्यक रहेको जनाउँदै वनले ५० प्रतिशत अनुदानले किसान झनै समस्यामा परेको बताए ।
उनले रु १० लाख लगानी गरेको खोरमा रु पाँच लाख राज्यले दिँदा आफ्नो लगानी उठाउन धेरै समय लागेको जानकारी दिँदै असली किसानलाई शतप्रतिशत अनुदान दिनुपर्ने बताए । उनले नेपाल सरकारबाट शून्य ब्याजदरमा रु १५ लाख ऋण ल्याएको जनाउँदै उक्त ऋणले आफूलाई ठूलो राहत पुगेको बताए । अहिले वनको फार्ममा यती सेरेना जातको मौरी रहेका छन् भने खरीजात, जमुनापारी, बोयर क्रसजातका बाख्रा रहेका छन् ।
उनले मौरीको महलाई प्रतिकिलो रु एक हजार दुई सयमा बिक्री गर्दै आएका छन् । उत्पादन भएको मौरी र बोकालाई बजारको अभाव भने नभएको उनले बताए । वनको फार्ममा बाबा, आमा, श्रीमतीले समेत सहयोग गरिरहेका छन् । बाख्रापालनका लागि स्थानीय घाँस एक सय रोपनीमा रहेको छ भने ३० रोपनी जग्गामा आधुनिक प्रजातिको घाँसखेती गरिएको छ ।