२१ मंसिर,काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यथास्थितिमा देश अघि बढिरहन नसक्ने निष्कर्ष निकाल्दै सडक आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ ।
बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको भन्दै यथास्थितिमा देश अघि बढिरहन नसक्ने निश्कर्षका साथ सडक आन्दोलनको अपरिहार्यतामा जोड दिएको हो ।
बैठकले राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापना, संघीयता खारेजी एवं सुशासन तथा जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जन सहित पारित गरेको छ भने आन्दोलनमा सहकार्यका लागि समान बिचार राख्ने राजनीतिक दलहरू संघ संस्थाहरू र अभियन्तालाई आह्वान गर्ने निर्णय गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । केन्द्रीय कार्यसमितिको बैठक पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बस्ने उनले बताएका छन् ।
त्यस्तै बैठकले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय र सवै तहमा उत्सवको रुपमा मनाउने निर्णय भएको उनले बताए ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा राप्रपा सहभागी हुने र त्यसबारे अरू दलसँग आवश्यक सहयोग जुटाउन र संवाद गर्न पार्टीका राजनीतिक विभाग प्रमुख एवं वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिने निर्णय गरिएको उनले बताए ।
यसैगरी, इलाममा हुने उपनिर्वाचनकोे तयारी समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजंग गुरुङलाई जिम्मेवारी दिइएको छ । राप्रपा नियमावली, २०८० का मस्यौदालाई विधान मस्यौदा समितिमा पठाई रायसहित केन्द्रीय समितिको बैठकमा पेस गर्ने निर्णय गरिएको अध्यक्ष लिङदेनले जानकारी दिए ।