मुख्य समाचार

आगलागी अपडेटः घाइतेलाई सेनाको स्काई ट्रकमा काठमाडौं पठाइयो

२० मंसिर २०८०, बुधबार १३:११
आगलागी अपडेटः  घाइतेलाई सेनाको स्काई ट्रकमा काठमाडौं पठाइयो

२० मंसिर,मोरङ। विराटनगरको सातघुम्तीमा रहेको एक कबाडी गोदाममा बुधबार दिउँसो आगलागीमा घाइते भएका चार जनालाई नेपाली सेनाको स्काइ ट्रक’ मार्फत थप उपचारका लागि काठमाडौं कीर्तिपुर वर्न सेन्टर लगिएको छ ।

विराटनगरको सातघुम्तीमा रहेको  कवाडी गोदाममा भएको आगलागीका घाइतेमध्ये एक जनाको अस्पतालमा र अर्का एकको घटनास्थलमै मृत्यु भएको थियो।  घाइतेमध्ये २ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरी प्रहरी प्रमुख दिपक पोखरेलका अनुसार विराटनगर महानगरपालिका- ७ की ५५ वर्षीया रिता सरदार, वडा ६ की ६० वर्षीया सुशीला पासवान,५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामत घाइते छन् । उनीहरू चार जनालाई नै थप उपचारका लागि काठमाडौं लगिएको उनले बताए । घाइतेमध्ये रिता र सुशीलाको अवस्था गम्भीर छ ।

कबाडीका कामदारहरुले संकलित वस्तु किच्याउने क्रममा आगलागी भएको घाइतेमध्येका किशोर पासवानले बतााए । पासवानका अनुसार अल्मुनियमको सेन्टको बोतल फुटेपछि आगो सल्किएको हो । उनले आफू भागेको तर पछि त्यही काम गरिरहेकी श्रीमती सुशीलालाई बचाउन जाँदा आगोले जलेको बताए ।

कवाडी गोदाममा दिउँसो २ः१५ बजेतिर एक्कासि आगलागी भएको थियो। गोदामभित्र काम गरिरहेको अवस्थामा बाहिर निस्कने गेटबाट आगो लागेका कारण कामदारहरू सहजै भाग्न नपाएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्