२० मंसिर,काठमाडौँ। नेपालमा लागूऔषध कारोबारमा महिलाहरू बढी प्रयोग हुने गरेको पाइएको छ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले सो कारोबारमा महिलाहरू बढी प्रयोग हुने गरेको अनुसन्धानको क्रममा खुल्न आएको जनाएको हो ।
नेपाल बार एसोसिएसन, महिला समितिले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले महिलाहरूले त्यस्तो काम गर्दैनन् भन्ने विश्वासको आधारमा पनि उनीहरूलाई सो कारोबारमा बढी प्रयोग गरेको पाइएको बताए ।
नेपालमा लागूऔषध प्रयोगकर्ताहरू बढ्नुमा आर्थिक समस्या नै मूल कारण भएको थपलिया बताउँछन्। साथीभाइको संगतले यस्तो काममा नाबालक समेत संलग्न हुने गरेको ब्युरोको निष्कर्ष छ।
‘२०७६ सालमा लागूपदार्थ प्रयोगकर्ताको संख्या १ लाख ३० हजार छ। यसमा महिलाको संख्या ८ हजार ७ सय र पुरुषको एक लाख २१ हजार छ। महिलाहरू बाहिर एक्सपोज कम हुन्छन्,’ प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक थपलिया भन्छन्।
ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक थपलियाले भने ‘यो ड्रग्स कारोबारमा चाहिँ महिलाहरूलाई बढी प्रयोग गरेको देखिन्छ । किनभने महिलाहरू धेरै कुरामा के, कसो भने सोधिखोजी नगर्ने एउटा यो कुरा । अर्को, महिलाहरूले यस्तो काम गर्दैनन् भनेर मानिसहरूले विश्वास पनि गर्ने । त्यो भएको कारणले महिलाहरू यसमा बढी प्रयोग हुने गरेका छन् ।