समाचार

गृहमन्त्री श्रेष्ठलाई पाँच दिन अस्पतालमै राखिने, भेटघाट बन्द

२० मंसिर २०८०, बुधबार ०५:५०
गृहमन्त्री श्रेष्ठलाई पाँच दिन अस्पतालमै राखिने, भेटघाट बन्द

२० मंसिर,काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पाँच दिनसम्म अस्पतालमै राखिने भएको छ । मुटुमा समस्या देखिएपछि गएराति गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका उनलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने चिकित्सकहरूले बताएका छन् ।

असोजको अन्तिम साता उनी चीनको भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो।

उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको जानकारीमा आएको थियो। मुटुमा हल्का असहज महसुस भएपछि उपप्रधानमन्त्री श्रेष्ठ गएराति अस्पताल भर्ना भएका थिए।

गंगाला हृदय केन्द्रमा डा. अरुण मास्के सहितको चिकित्सक टोलीले केही अवरोध रहेको भागमा राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरेको थियो।अहिले उनको स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको अस्पतालले जनाएको छ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहानै अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

प्रतिक्रिया दिनुहोस्