प्रदेश ४

८ सय ५२ किलोमिटर पार गरेर आज गण्डकी पस्दै एमालेको ‘संकल्प यात्रा’

२० मंसिर २०८०, बुधबार ०१:३८
८ सय ५२ किलोमिटर पार गरेर आज गण्डकी पस्दै एमालेको ‘संकल्प यात्रा’

२० मंसिर,रुपन्देही।‘झुलाघाट-चिवाभञ्जाङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत नेकपा एमालेको शीर्ष टोली लुम्बिनी छिरेको छ । उक्त टोली मंगलबार साँझ लुम्बिनी प्रदेशको रुकुमपूर्वको कैचीमोडमा प्रवेश गरेको हो ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज बिहान साढे ८ बजे लुम्बिनी प्रदेशको रूकुम पूर्व र गण्डकी प्रदेशको बागलुङको सीमाना पातिहाल्ने आउँदै छ । गण्डकी प्रदेश आइपुग्दासम्म यो टोलीले ८ सय ५२ किलोमिटर यात्रा गरिसकेको हुनेछ । संकल्प यात्राको टोलीले गण्डकीमा तीन रात बिताउने छ । आज दिनभर झीवाखोला, बुर्तिबाङ, बडिगाड, बामी टक्सारलगायत ठाउँमा सभा र भेटघाट गरेर यो टोली राति गलकोटमा बास बस्ने छ ।

आज बिहानै रुकुमपूर्वको रुकुमकोटस्थित होटल लेकसिटीमा सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया गर्ने, त्यसपछि छिपृदहस्थित पिपलबोटमा कोणसभा गर्ने र १० बजे भूमे गाउँपालिकाको लुकुममा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको एमाले रुकुमपूर्वले जनाएको छ । रुकुमपूर्व सशस्त्र द्वन्द्वदेखि नै माओवादीको पकड भएको क्षेत्र मानिन्छ ।

अहिले यहाँ एमालेले संगठन बलियो बनाउँदै लगेको छ । उहाँ ओलीले कार्यकर्ता तथा स्थानीयका कुरा समय दिएर सुन्नत चाहेको प्रदेशका नेताहरूले बताएका छन् ।

२२ मंसिर बिहान साढे ७ बजे टोली अमरसिंहचोक, तालचोकतर्फ जाने छ । रूपा गाउँपालिकामा बिहान साढे ९ बजे स्वागत र भेटघाटको कार्यक्रम राखिएको छ । त्यहाँबाट यो टोली लमजुङ जाने एमाले कास्कीले जनाएको छ । लमजुङ हुँदै २२ मंसिरमा यो टोली गोरखा बजार बसेर २३ मंसिरमा बागमती प्रदेशको धादिङतर्फ जाने कार्यतालिका छ । गण्डकी प्रदेशमा यो टोलीले करिब ३ सय किलोमिटर यात्रा गर्ने छ ।

धादिङबाट धुलिखेल, मन्थली, दिक्तेल, भोजपुर, सक्रान्ती बजार, फिदिम–च्याङ्थापुसम्म पुग्ने छ । १ पुसमा च्याङ्थापु पुगेर अध्यक्ष ओलीसहितको टोली १९ दिनको यात्रा सकेर २ पुसमा काठमाडौं फर्किने छ ।

प्रतिक्रिया दिनुहोस्